काठमाडौं । गुगलको पकड सायद कहिल्यै पनि यति धेरै बलियो भएको थिएन । क्रोम ब्राउजरको ७० प्रतिशत र सर्च इन्जिनमा ९२ प्रतिशत बजार हिस्साले नै गुगलकाे वर्तमान स्थान कहाँ छ भनेर देखाउँछ ।विश्वको शक्तिशाली कम्पनीमध्येको एक गुगलसँग यति धेरै डेटा र विज्ञापन आय छन् । गुगललाई मात दिन बजार छिर्न जुनसुकै कम्पनीको लागि आज ठूलै चुनौतीको विषय बनेको छ ।
तर गुगलको एकाधिकार र गैरप्रतिस्पर्धी अभ्यासकै कारण आज गुगलकै वर्चस्वमा पनि आँच आउने देखिन्छ । गुगलको यही खराब पक्षको फाइदा उठाएर उदाउन चाहन्छन् उसका नयाँ प्रतिस्पर्धीहरु ।गोपनीयतामा केन्द्रित ब्राउजर ब्रेभ सार्वजनिक भएको दुई वर्षपछि मोजिल्ला कम्पनीका पूर्व कार्यकारी ब्रेन्डेन इचको आखाँ अब गुगलको सर्च विजनेसमा पर्न थालेको छ ।
हालै उनले गुगल सर्चको वर्चस्वलाई चुनौती दिँदै ब्रेभ ब्राउजरकै अर्को सर्च इन्जिन ब्रेभ सर्चको घोषणा गरेका छन् । वेट लिस्ट खोलिसकेको ब्रेभ सर्च इन्जिन २०२१ काे मध्यतिर सार्वजनिक हुने इचले बताएका छन् । ब्रेभ सर्चले आफ्नो साइट भिजिट गर्ने मानिसहरुलाई ट्रयाक नगर्ने र तिनीहरुको प्रोफाइल लग नबनाउने बताएको छ ।
ब्रेभमा यसअघिबाट नै डिफल्ट एनोनिमस युजर मोडल छ, जसले प्रयोगकर्ताहरुको डेटा संकलन गर्दैन । साथै यसले आईपी एड्रेस पनि संकलन नगर्ने र यसलाई कसरी सशुल्क वा निःशुल्क विज्ञापनरहित सर्च इन्जिन बनाउन सकिन्छ भन्ने कुरामा कम्पनी अनुसन्धान गरिरहेको इचले बताएका छन् ।