भक्तपुरमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर-काठमाडौं ६ लेन सडकअन्तर्गत भक्तपुर नगरपालिका १ घलाते चोकबाट बाटो काट्ने क्रममा टिपरले पैदलयात्रीलाई ठक्कर दिएको हो।

0

भक्तपुर : टिपरको ठक्करबाट भक्तपुरमा शुक्रबार राति एकजना पैदलयात्रीको मृत्यु भएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर-काठमाडौं ६ लेन सडकअन्तर्गत भक्तपुर नगरपालिका १ घलाते चोकबाट बाटो काट्ने क्रममा टिपरले पैदलयात्रीलाई ठक्कर दिएको हो।

बा ५ ख ४७९ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ७ घर भएका ३५ वर्षीय बलराम तामाङको घटनास्थलमै मृत्यु भएको परिसरले जनाएको छ। परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले टिपरको ठक्करबाट मृत्यु हुने तामाङ ललितपुरको कुपण्डोलस्थित नाइटिङ्गेल बोर्डिङ स्कुलका बस चालक रहेको जानकारी दिए।

भक्तपुरको सल्लाघारीबाट भक्तपुर-काठमाडौं ६ लेन सडक भई जगातीतर्फ जाँदै गरेको टिपरको ठक्करबाट घाइते तामाङलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएको भक्तपुर प्रहरीले जनाएको छ। अस्पताल पुर्‍याउँदा चिकित्सकले घाइते तामाङको मृत्यु भइसकेको जानकारी दिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए।

उनका अनुसार दुर्घटना गराउने टिपर भक्तपुर-काठमाडौं ६ लेन सडकको डिभाइडरमा ठोक्किन पुगेको थियो। दुर्घटनास्थलमा पुगेको प्रहरी टोलीका अनुसार टिपर तीव्र गतिमा थियो। घटनास्थलमा टिपरको ब्रेक लगाएको डाम देखिएको प्रहरीले जनाएको छ।

‘तीव्र गतिमा गुडेको उक्त टिपर बाटो काट्दै गरेका तामाङलाई जोगाउन खोज्दाखोज्दै ठक्कर दिई डिभाइडरमा ठोक्किन पुगेको देखिन्छ’, प्रहरी नायब उपरीक्षक गिरीले भने।उनका अनुसार दुर्घटना गराउने टिपर र टिपर चालक सिन्धुपाल्चोक साँगाचोकगढी नपा ११ घर भएका २९ वर्षीय सुरेन्द्र खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here