कसरी गर्ने गर्मीमा स्वास्थ्यको ख्याल?

गर्मी मौसम सुरु भएसँगै किटजन्य रोगको जोखिम पनि बढ्ने गर्छ ।

0

गर्मी मौसम सुरु भएसँगै किटजन्य रोगको जोखिम पनि बढ्ने गर्छ । त्योसँगै पानीका स्रोतहरु पनि प्रदूषित हुने भएकाले पानीजन्य रोगको जोखिम पनि गर्मीको समयमा उत्तिक्कै हुने गर्छ ।

गर्मीमा शरीरबाट पसिना आउने भएकाले कपडा छिट्टै फोहोर हुन्छ । फोहोर भएपछि मानिसहरुले छिटो लुगा धुने तथा नुहाउने गर्छन् । उनीहरुको पानीसँगको क्रियाकलापहरू बढ्छ । गर्मीका कारण तिर्खा पनि धेरै लाग्ने गर्छ । 

एकातिर पानीजन्य क्रियाकलाप धेरै हुन्छ भने अर्कोतिर पानीको मुहान फोहोर हुने भएकाले गर्मी मौसममा विभिन्न खालका रोगको जोखिम पनि धेरै नै हुने गर्छ । फुड पोइजन अर्थात् विषाक्त खानाका कारण पनि विभिन्न खालका रोगका जोखिम हुने गरेको छ । 

गर्मीको समयमा  देखिने अर्को समस्या भनेको सर्पको टोकाइ पनि हो । चुरे पर्वतभन्दा केही माथि, ठूला नदीको छेउछाउ र फाँटहरुमा सर्पले टोकेर मानिसलाई गम्भीर समस्या पार्ने वा ज्यान नै जाने गरेको छ । तर गर्मीको समयमा धेरै समस्या भने  किटजन्य  रोगका कारण हुने गर्छ । 

डेङ्गी, मलेरिया, जापानी इन्सेफेलाइटिस र ज्वरोलगायतका स्वास्थ्य समस्या हुने गरेको छन् । यस्तै भुसुनाबाट लाग्ने कालाजार लगायतका रोगहरु पनि गर्मीको समयमा देखिन्छन् । स्क्रब टाइफस पनि गर्मीको समयमा धेरै देखिने गर्छ । 

दूषित पानीका कारण झाडापखाला, आउँ,  हैजा, जण्डिसका प्रकोप नै बेलाबेला देखिने गरेको छ । यस्तै फुड पोइजनका कारण पनि स्वास्थ्य समस्या निम्त्याउने गरेको छ । २०५० सालतिर बाँकेमा जन्ती गएका तीनसय जनामा फुड पोइजन कारण झाडापखाला लागेको थियो । फुड पोइजन अर्थात् विषाक्त खानाका कारण पेट दुख्ने, ज्वरो आउने लगायतका समस्याहरु पनि देखिने गर्छ ।  

धेरै रोग भारतबाट आउँछ 

नेपालको इतिहास हेर्ने हो भने धेरै रोग भारतबाटै आएको देखिन्छ । डेङ्गी पहिला भारतमा देखिएर त्यसपछि नेपालमा देखिएको हो । कालाजार पनि सुरुमा भारत पटनाको आसपास देखिएको थियो । त्यसपछि बिस्तारै अरु जिल्ला हुँदै नेपालको धनुषा, महोत्तरी लगायतका जिल्लामा देखिन थालेको हो । इतिहास हेर्ने हो भने धेरैजसो रोगहरु भारत हुँदै नेपाल आएको पाइन्छ । 

खुला सिमाना तथा मानिसको आवतजावत पनि धेरै हुने भएकाले र सांस्कृतिक सम्बन्धका कारणले धेरै रोगहरु भारतबाट आएका हुन् । 

यति थाहा हुँदाहुँदै पनि जनशक्ति थप गरेर स्वास्थ्य जाँच गर्ने कुराहरुलाई भने प्राथमिकता दिएको पाइँदैन । दरबन्दी नै सिर्जना गरेर डाक्टरसहितको टोली सिमानामा राख्नुपर्ने हो, तर त्यसो हुन सकेको छैन ।  दरबन्दीको डाक्टर नराखेकाले गर्दा धेरै रोग नेपाल भित्रने गरेको छ ।  

२०२५/०२६ सालमा मलेरिया नियन्त्रण उन्मुख अवस्थामा पुगेको थियो । पछि मलेरियालगायतका रोग नियन्त्रणका लागि छुट्याइने  बजेट स्वास्थ्यकै अर्को क्षेत्रमा लगाउने काम भयो । त्यसपछि मलेरियाका  बिरामी ह्वात्तै बढे । अहिले कुष्ठरोग लागेकाहरु पनि भारतबाट नेपाल आउने क्रम बढेको छ । आउन दिने कि नदिने ? कस्तो मापदण्ड पालना गर्न लगाउने ? भन्नेबारे पनि  कुनै निर्णय  हुन सकेको छैन । 

बाहिरबाट आएकाको स्वास्थ्य अवस्था कस्तो छ भन्नेबारे सरकारले जानकारी लिने धेरै खालका रोगको प्रकोप कम हुने थियो । सरकारले  ४ अर्बभन्दा धेरै रकम स्वास्थ्यका विभिन्न क्षेत्रमा खर्च गर्दा सीमामा डाक्टरसहितको टोली राख्नका लागि  २/४ करोड रुपैयाँ खर्च गरेको भए धेरै रोगहरु नेपाल छिर्न पाउँदैन थियो । 

गर्मी मौसममा रोगहरु फैलनुका कारण

न्यूनतम तापक्रम १५ डिग्रीभन्दा कम एक सय दिनसम्म रह्यो भने मनाङ तथा  मुस्ताङमा पनि मलेरिया फैलन्छ भन्ने गरिन्छ । केही वर्षयता लामखुट्टेेहरु पहाड तथा हिमालमासमेत पुगिसकेका छन् । लामखुट्टेे लगायतका किट तथा तथा भुसुनाहरुले फुल पार्नका लागि न्यूनतम तापक्रम १२ देखि १५ डिग्री सेल्सियस भए पुग्छ । 

जाडोको समयमा निस्क्रिय भएर बसेका हुन्छन् । त्यसपछि  गर्मी मौसम सुरु भएर पानी पर्ने बित्तिक्कै फुलबाट लामखुट्टेेको रुपमा विकसित भएर मानिसलाई टोक्ने र रोग बढाउने काम सुरु गर्छ । त्यही भएर गर्मीको सम्बन्ध किटजन्य रोगसँग हुने गर्छ ।

एकदमै तातो र एकदमै चिसो पानीमा भाइरसहरु बढ्न सक्दैनन् । अत्यन्तै चिसोका कारण भाइरसहरु मर्ने भएकाले जाडोको समयमा यस्ता रोगहरु देखिँदैनन् । गर्मी सुरु भएपछि किटाणुहरु प्रवेश गर्छन् र किटाणुहरु प्रवेश गरे भने त्यसबाट मानिसमा रोग सर्ने सम्भावना धेरै हुन्छ । 

बच्ने उपाय 

मलेरिया सार्ने लामखुट्टेेले रातिको समयमा मानिसलाई टोकेर रोग सार्ने गर्छ ।  यस्तो लामखुट्टेे रातिको समयमा आवाज निकाल्दै आएको हुन्छ । त्यसबाट बच्नका लागि सुत्दा झुलको प्रयोग गर्नुपर्छ । अझ औषधिको प्रयोग गरिएको झुल झनै  प्रभावकारी हुन्छ । यस्तो झुलको प्रयोगबाट मलेरिया रोगबाट बच्न सकिन्छ  ।  

गर्मी महिनामा बेलुका घाम अस्ताएपछि शीतल हुन्छ । शीतलमा हाप पाइन्ट वा पूरै शरीर नढाकिएका कपडा लगाएर मात्र  काम गरेका हुन्छन् र लामखुट्टेे सर्ने जोखिम धेरै हुन्छ । डेङ्गी सार्ने लामखुट्टेले बाहिर टोक्ने गर्छ ।  

त्यसकारण घरबाहिर निस्कँदा लामो कपडा लगाउने, बाहुला भएको लुगा लगाउने, हात मुखमा लामखुट्टेले नटोकोस् भनेर  लगाउने औषधि पनि किन्न पाइन्छ । पानी उमालेर मात्र पिउने, शुद्धीकरण गरेर, पीयूष हाल्ने, फिल्टर गर्न सम्भव नभएको ठाउँमा पानी उमालेर पिउँदा राम्रो हुन्छ ।

खानपिन र सरसफाइका बारेमा स्थानीय सरकारले पनि बेलाबेला सचेत गराउनुपर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here