मासु उपभोग गर्ने मानिसको तुलनामा भिगन डाइट खानेहरू धेरै बाँच्ने

0

म्यासाचुसेट्स जनरल हस्पिटलले १ लाख ३० हजार मानिसमा गरेको ३० वर्ष लामो अध्ययनले निकालेको निष्कर्षमा ‘मासु उपभोग गर्ने मानिसको तुलनामा भिगन डाइट खानेहरू धेरै बाँच्ने’ देखाइएको छ ।

भेजिटेरियन रेस्टोरेन्ट्स नियर मी !
अमेरिका आएपछि मैले सबैभन्दा पहिले र सबैभन्दा धेरै गुगल गरेको वाक्यांश हो यो । सानैदेखि शाकाहारी मलाई विश्वमा सबैभन्दा बढी मांसाहारी भएको देश अमेरिकामा एडजस्ट गर्न सुरुको एक वर्ष अलि कठिन पर्‍यो ।

मांसाहारबिना यहाँका मानिसका साना–ठूला जमघट मात्र होइन, दैनिक जीवन नै नचल्ने रहेछ । विकल्प थुप्रै भए पनि शाकाहारी साथी–सर्कल नभएकाले सुरुसुरुमा असजिलो लाग्यो । केही समयअघि गोरा दम्पतीसँगको अफिसियल लन्च मिटिङमा मैले आफू शाकाहारी मात्र नभई प्याज, लसुन र दुग्ध उत्पादन पनि नखाने बताउँदा ती दुवैले आफूले खाँदै गरेको चिकन प्लेटमै झारेर मलाई एकटकले हेरेका थिए । उनीहरूले आश्चर्य मान्दै मलाई आधा घण्टा केरकार पनि गरे । तर ‘भेजिटेरियन हो ?,’ ‘किन ?,’ ‘कसरी ?,’ ‘कहिलेदेखि ?,’ ‘अनि के खान्छौ त ?,’ ‘कस्तो बोरिङ लाइफ !’… यस्ता प्रश्नका झटारा अहिले मेरा लागि सामान्य भइसके ।

सन् २०१८ को एउटा प्रतिवेदनले एक अमेरिकीले प्रत्येक वर्ष औसत १ सय किलोसम्म मांसाहार सेवन गर्ने देखाएको छ । एकपटक म्याकडोनाल्ड्समा एक व्यक्तिले ६ महिनाको आफ्नो बच्चालाई लन्चमा नग्गेट्स खुवाउँदै गरेको देख्दा मलाई अनौठो लागेको थियो । जन्मेको एक वर्ष नपुग्दै सुरु हुने मांसाहारले मानव शरीरमा पार्ने दीर्घकालीन प्रभावबारे विभिन्न अध्ययनले चेतावनी दिए पनि यहाँका मानिस अस्वस्थ जीवनशैली र खानपानबाट माथि उठ्न सकेका छैनन् । न्युयोर्कस्थित क्वार्ट्ज नामक मिडिया कम्पनीले ‘अमेरिका आर्थिक रूपले धनी छ, तर यो विकसित देशजस्तो देखिँदैन’ शीर्षकमा प्रकाशित गरेको खबरमा यहाँको गलत पोषण र कमजोर स्वास्थ्यलाई भयावह समस्याका रूपमा चित्रण गरिएको छ ।

खास गरी मांसाहार शरीरको मेटाबोलिज्म सुधार्न, हड्डी बलियो बनाउन, इम्युनिटी बढाउन लगायतका लागि भनेर गर्ने गरिन्छ । तर, स्वास्थ्यका लागि भन्दा पनि स्वादको जन्जालमा फसेका अमेरिकीहरू आफूले दैनिक खाने गरेका खानाले आफ्नै शरीरमा मन्द विषको काम गरिरहेको छ भन्ने तथ्यलाई बेवास्ता गरिरहेका छन् । यहाँका ७० प्रतिशत फास्टफुड खानाको न्युट्रिसनल भ्यालु एकदमै न्यून छ । ६० प्रतिशतभन्दा बढी अमेरिकीहरू मोटोपनको सिकार छन् । आवश्यकताभन्दा बढी अस्वस्थ खानपान र शाकाहार नअपनाउनु यहाँ हुने करिब आधाजति मृत्युका कारक हुन् । त्यसैले अन्य औद्योगिक राष्ट्रहरूका तुलनामा अमेरिकाको औसत उमेर कम छ । अमेरिकी मेडिकल एसोसिएसनले प्रकाशित गरेको एक जर्नलमा बेकन, बोलोग्ना, हट डग, स्टिक्स, हामबर्गर, रातो मासुजस्ता खानाले कम उमेरमै क्यान्सर, मधुमेह, स्ट्रोक्स, मुटु रोगजस्ता समस्या देखा पर्ने स्पष्ट पारेको छ । विश्वमा क्यान्सरबाट हरेक वर्ष हुने मृत्युमध्ये ३४ हजार घटना मांसाहारबाट हुने अनुसन्धानले पुष्टि गरेको छ । प्रोटिन मानव शरीरका लागि आवश्यक छ तर त्योभन्दा महत्त्वपूर्ण कुरा कुन स्रोतबाट प्रोटिन उपभोग गरिएको छ भन्ने भएको विशेषज्ञ बताउँछन् ।

मांसाहारमा सबैभन्दा अस्वस्थ भनेको प्रशोधित मासु हो । सस्तो, सुलभ र स्वादका कारण प्रशोधित मासु अमेरिकीको विशेष रोजाइमा पर्छ । मांसाहारप्रतिको झुकाव चुरोटको लतजस्तै हो, स्वास्थ्यका हिसाबले हानिकारक छ भन्ने थाहा हुँदाहुँदै पनि सेवन गरिने । करिब ७ अर्ब डलरको मासु उद्योगले अमेरिकीहरूलाई मांसाहार आधारभूत आवश्यकता हो भन्ने छाप पारिदिएको छ । प्रशोधित मासु उत्पादन गर्ने कम्पनीका लागि उपभोक्ताको स्वास्थ्य सबैभन्दा कम प्राथमिकतामा परेको देखिन्छ । सन् २०१७ मा प्रदर्शनमा आएको ‘ह्वाट द हेल्थ’ शीर्षक डक्युमेन्ट्रीले अमेरिकी हार्ट एसोसिएसन, अमेरिकी क्यान्सर सोसाइटी, सुसन जी कोमनजस्ता स्वास्थ्य क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरूलाई मासु उद्योगहरूले लगानी गर्ने गरेको तीतो वास्तविकतालाई छर्लंग पारेको छ ।

सुसन जी कोमन महिलामा हुने ब्रेस्ट क्यान्सरविरुद्ध काम गर्ने अन्तर्राष्ट्रिय संस्था हो । विश्व स्वास्थ्य संगठनले बिफमा क्यान्सर लाग्ने तत्त्व कार्सिनोजेन पाइने कुरा आधिकारिक रूपमै घोषणा गरिदिँदा पनि अमेरिकी क्यान्सर सोसाइटीले बिफलाई अमेरिकीको सन्तुलित आहार भनेर विज्ञापन गरिरहेको हुन्छ । अमेरिकी हार्ट एसोसिएसनकै वेबसाइटमा बिफ रेसिपी सामेल गरिनुले स्वास्थ्य क्षेत्रमै काम गर्ने यस्ता संघसंस्थाकै प्रामाणिकतामा प्रश्न उब्जेको छ । नेपालमा पनि प्रशोधित मासुजन्य खानाको बढ्दो प्रभावसँगै नेपालीले पनि यसबारे सजग हुनु जरुरी छ ।

शारीरिक बनोटले पनि मानिस मूल रूपमा शाकाहारी प्राणी भएको पुष्टि हुन्छ । मांसाहारी र शाकाहारी जनावरको खाने मुखदेखि पाचन प्रणालीमा समेत ठूलो फरक हुन्छ । मांसाहारी प्राणीभन्दा अलग मानव शरीरका नङ छोटा हुन्छन्, पन्जा हुँदैनन्, केनाइन दाँत सानो र बोधो हुन्छ । मानव शरीरलाई मांसाहारी जनावरको शरीरसँग तुलना गर्न नमिल्ने र प्राचीनकालदेखि नै मानवले मांसाहार गर्दै आएकाले मासु जीवनयापनको आधारभूत तत्त्व हो भन्ने तर्क पनि व्याप्त छ । तर, कतिपय मानिस शाकाहार र मांसाहारको विवादभन्दा पनि मानवीय हिसाबले पशु हिंसाविरुद्धको अभियानलाई समर्थन गर्दै मांसाहार त्यागिरहेका छन् । कुनै पनि प्राणीलाई हत्या गरेर खानु भनेको त्यसको शरीरका अंग खाने मात्र नभएर मृत्युका बेला त्यस जीवको मनस्थितिमा हावी भएको डर, त्रास, चिन्ता, छटपटीजस्ता भावनालाई पनि उपभोग गर्नु हो । यसले त्यो आहार ग्रहण गर्ने मानिसको शरीर मात्र नभई मन पनि दूषित बनाइरहेको हुन्छ ।

त्यसैले धर्म र अध्यात्मको मार्गमा चल्ने प्रायः मानिस शाकाहारी जीवनशैली नै अपनाउँछन् । प्रकृतिका फलफूल, सागपात, तरकारीमा मानिसको शरीरलाई चाहिने सबै पोषण भरपूर मात्रामा छन् । अध्ययनका अनुसार, कालो सिमी, मुसुरोको दाल, भटमास, क्विनोआ, पालुंगो आदिमा मासुमा भन्दा बढी प्रोटिन पाइन्छ । ‘पिपल फर द इथिकल ट्रिटमेन्ट अफ एनिमल्स’ अर्थात् पेटाजस्ता अन्तर्राष्ट्रिय संघसंस्थाहरू भिगन जीवनशैलीलाई प्रोत्साहित गर्ने अभियान चलाइरहेका छन् । भिगन आहारमा दूध र दुग्ध उत्पादन पनि परहेज गरिन्छ । कैयौं अध्ययनका अनुसार, दूध र दुग्ध उत्पादनले हृदय रोग, टाइप–टु मधुमेह र अल्जाइमर रोगको खतरा निम्त्याउँछन् । त्यस्तै, हरिया तरकारीहरूमा क्याल्सियम अवशोषण गर्ने क्षमता गाईको दूधमा भन्दा बढी हुने पनि अध्ययनहरूले देखाएका छन् ।

यिनै तमाम कारणले अमेरिकालगायत थुप्रै देशमा शाकाहार र भिगन डाइटतर्फ मानिसको रुचि बढ्दो छ । एउटा तथ्यांकका अनुसार, विश्वमा अहिले ३७ करोड मानिस शाकाहार अपनाउँछन् । भिगन जीवनशैली अपनाउनेको संख्या पनि हरेक वर्ष बढेको देखिन्छ । ब्रिटेनमा गत एक दशकमा भिगनको संख्या ३६० प्रतिशतले बढेको छ । म्यासाचुसेट्स जनरल हस्पिटलले १ लाख ३० हजार मानिसमा गरेको ३० वर्ष लामो अध्ययनले निकालेको निष्कर्षमा ‘मासु उपभोग गर्ने मानिसको तुलनामा भिगन डाइट खानेहरू धेरै बाँच्ने’ देखाइएको छ । विश्वका थुप्रै व्यावसायिक खेलाडीहरू पनि शाकाहारी जीवनशैली अपनाउँछन् । सन् २०१९ मा रिलिज भएको ‘द गेम चेन्जर्स’ शीर्षक डक्युमेन्ट्रीमा केही खेलाडीले आफ्नो अनुभव साझा गर्दै शाकाहार डाइटले व्यक्तिगत र व्यावसायिक सफलतामा ठूलो महत्त्व राखेको बताएका छन् ।

वातावरण संरक्षणका हिसाबले पनि प्लान्ट–बेस्ड डाइटलाई जीवनयापनको उत्तम शैली मानिएको छ । यदि मानिसले आफ्नो दैनिक आहारमा मासु र दूध खान छोड्ने हो भने कम से कम ५० प्रतिशत पानी बचाउन सकिने विशेषज्ञहरूको राय छ । संयुक्त राष्ट्र संघका विज्ञले पनि भनेका छन्— पश्चिमी देशमा अत्यधिक उत्पादन र उपभोग हुने मासु र डेरी प्रोडक्ट ग्लोबल वार्मिङको एउटा कारक हो ।

विश्वचर्चित अंग्रेजी गायक र संगीतकार पल म्याककार्टनीले भनेका छन्— यदि वधशालाहरूमा सिसाका पर्खाल हुने भए संसारका सबै मानिस शाकाहारी हुने थिए । तपाईं–हामीले पनि एकपटक यी तथ्यमा ध्यान दिने कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here