प्रकृतिको त्यो रूद्र रूप ।…..✍

0

जीव विकासको सिद्धान्तका प्रतिपादक ‘चाल्स डार्विन’को प्रख्यात सिद्धान्त मध्य एक सिद्धान्त हो “बाच्नका लागि सङ्घर्ष”। यही सिद्धान्त अहिलेको यो परीस्थितीलाई व्याख्या गर्ने समय सान्दर्भीक सिद्धान्त लाग्दैछ मलाई। प्राणी विकाशको क्रममा जीवले आफ्नो अस्तित्व जोगाइ राख्न अनेकन सङ्घर्ष गर्नुपर्ने हुन्छ र त्यस सङ्घर्ष बाट नै प्रकृतिले जीवको जीवन-मरणको छनौट गर्छ भनेर यस सिद्धान्तले भन्छ। प्रत्येक जीव प्रकृति सँग जोडिएको हुन्छ। उसको जन्म देखि मृत्यु सम्मको अन्तराल प्रकृतिकै गर्भमा रहन्छ र यसैबाट अर्जीत स्रोत-साधनको प्रयोग गरेर नै प्राणीले आफ्नो जीवन चलाउने गर्छ।

जीवहरूमा अधिक बुद्धिमान र सर्वश्रेष्ठ मनुष्यलाई नै मानिन्छ। कुनै पनि कुरा सिक्ने र त्यसलाई मूर्त रूप दिने कला, प्राणी-जगतमा कसैसँग छ भने त्यो ‘मनुष्य’ सँग छ। वुद्धिको विकास सँगै मनुष्यले विभिन्न विद्या अर्जीत गर्दै गयो। तर उसको विद्या प्रकृतिलाई संरक्षण गर्ने कुरामा कहिल्यै काममा आएन। जुन गर्भमा आफू बस्यो, त्यही गर्भमा उसले बारम्बार लात हानिरह्यो। जतिसुकै लात र तिरस्कार प्राप्त गर्दा पनि प्रकृतिले स्रोत-साधन दिन भने कहिल्यै छोडिनन्। त्यो दमन सहेर पनि प्रकृतिले मनुष्यको भोकको भकारी सधैं भरी नै रहिन्। तरपनि मनुष्यले प्रकृतिको दोहन गर्न भने कहिल्यै छाडेन। उसको भोक कहिल्यै शान्त भएन।

प्रकृतिले हामीलाई अनेकानेक स्रोत-साधनले भरीपूर्ण बनाइदियो। तर हामी जतिसुकै भरीपूर्ण रहेता पनि केही न केहीमा अपूर्ण जस्तै बनिरह्यौं। हाम्रो भोकको भकारी कहिल्यै भरीएन। गिद्ध र स्याल बनेर हामीले पाए जति स्रोत-साधन लुछिरह्यौं। कुनै लेखा-जोखा र हिसाब-किताब राख्न उचीत ठानेनौं। हामीहरु आफ्नो दैनिकी र दिनचर्यामा यति व्यस्त भयौं कि बाहिर प्रकृतिको त्यो चित्कार र वेदना सुन्ने फुर्सद हामीलाई कहिल्यै भएन। फलस्वरूप: ईश्वरले मनुष्यलाई दिएको चेतनालाई नै चुनौती दिनेगरी प्रकृतिले आफ्नो रूद्र-रूप देखाएर मृत्युको ताण्डव मच्चाइरहेकि छिन्।

आज मनुष्यको अवस्था देख्दा महाभारतमा रहेका ती पात्र ‘कर्ण’ सँग ठ्याक्कै मिल्दो-जुल्दो लाग्छ, जसले जीवनभर अनेकन सङ्घर्ष गरेर शस्त्र-विद्या प्राप्त गरे। तर जब आफ्नो जीवन नै दाउमा लाग्ने अवस्था आयो, त्यसबेला उनको त्यो विद्या केही काम लाएन। वास्तवमै अहिलेको अवस्था पनि त्यस्तै छ। कोरोना, भूकम्प, आँगलागी, आँधी-बेरी जस्ता विभिन्न प्रकोपले मनुष्यलाई चुनौती दिइरहदा पनि खोइ त मनुष्यले त्यसलाई परास्त गर्न सकेको? खोई उसको विद्याले त्यसलाई निर्मूल पार्न सकेको? खोइ त हाम्रो अनुसन्धान र वर्षौंका आविष्कार काम लागेको?

सभ्यताको विकासमा प्रकृतिलाई नै बाधक ठानेर हामीले आफ्नो हैकम चलाउदै गयौं र निरीह प्रकृति माथि आफ्नो दम्भ देखाउदै गयौं। विना मूल्य प्राप्त स्रोत-साधनहलाई हामीले अवमूल्यन गर्दै गर्यौं। वन-जङ्गल, वनस्पति, माटो, पानी, हावा कुनैलाई मूल्यवान ठानेनौं। सायद त्यसैको विद्रोह देखाउन आज प्रकृतिले रोग, भोक र शोक निम्त्याएर यत्रो वितण्डा मच्चाइरहेको छ। सारा विश्वलाई आक्रान्त बनाएर यो चेतावनी दिदैछ कि, ‘हे मानव! तिम्रो स्वार्थको सीमाले मेरो सहनशीलताको बाध भत्काइसक्यो। अब अझै भरीने कुनै बाध नै छैन, बस् पोखिने स्थान बताइदेउ!’……सायद त्यसैले होला, आफूमा समाहित सबै कुन्ठा पोखेर आज प्रकृति विश्व नै बञ्जर बनाउन बाध्य भयो।

लेखक: बाल कृष्ण आर्याल (बुटवल, रूपन्देही)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
6
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here