‘प्रेम गीत–३’ भारतमा चलाउन संघर्ष

हिन्दीमा डब गरिएको चलचित्र भारतका ५०० हलमा चलाउने वितरकको तयारी

0

गत वर्षको चैतमा लकडाउन सुरु हुनुभन्दा चार दिन अगाडि ‘प्रेम गीत–३’ को छायांकन सकिएको थियो । कसरी निर्धारित मितिमा चलचित्र रिलिज गर्ने भन्ने सोचिरहेका बेला भएको लकडाउनले सन्तोष सेनको चिन्ता त दूर गरिदियो । तर, त्यो नै समस्याको समाधान थिएन ।

“एक महिनाको विश्रामपछि चलचित्रको पोस्ट प्रोडक्सनको काम सुरु भयो । हामीले पोस्ट प्रोडक्सनको काम सुरु गर्दा केही महिनापछि कोरोना महामारी सकिन्छ । र, बजार पुरानै लयमा फर्किन्छ भन्ने थियो,” सन्तोष भन्छन्, “तर,  हामीले सोचेजस्तो भएन । न तत्काल महामारी नै रोकियो न यसविरुद्धको खोप नै आयो ।”

चलचित्रको काम सक्दा मोटो रकम खर्च भइसकेको थियो । कथाको युग, कस्टुम, क्यानभास, प्रस्तुति आदि हेर्दा सन्तोषको मनमा प्रश्न उठ्यो यो चलचित्र नेपालमै सीमित गर्ने र ? शताब्दी पुरानो कथा, कथा अनुसारको लुगा अनि त्यही समयको क्यारेक्टर खडा गरिएको चलचित्रलाई विदेशमा लैजाने उनमा महत्वाकांक्षा जाग्यो ।

भारतका साना–साना प्रान्तका चलचित्र पनि हिन्दीमा डब भएर ५००/१००० करोड कमाउँछन् । अन्य भाषा र क्षेत्रका दर्शकमाझ आफ्नो कला, साहित्य, संस्कृति र संस्कार फैल्याउँछन् । हाम्रा लागि यो सम्भव छैन ? सम्भव होला÷नहोला त्यो पछिको कुरा । सुरुमा प्रयास त गर्नुपर्यो ।

उनले योजना बनाए– मुम्बई जान्छु । सुरुमा ‘ए’ ग्रेडको कम्पनीमा सम्भव नहोला, त्यसैले दोस्रो श्रेणीका चलचित्र वितरकहरुलाई प्रस्ताव गर्छु । कसो नमान्लान् !

शिशिर वाङ्देलको आवाजमा ‘सो रिल’ रेकर्ड गरे । त्यही बोकेर प्रदीप खड्कालाई लिएर सन्तोष लागे मुम्बईतिर ।

विश्वकै दोस्रो ठूलो चलचित्र नगरी, सोचेजस्तो सजिलो कहाँ थियो र ? दर्जनौँ प्रोडक्सन हाउस चाहारे । चलचित्र त उनीहरु मन पराउँथे । तर, लगानी गर्न कोही अगाडि नसर्ने । करोडौँ लागतको चलचित्र अरुलाई सित्तैमा किन दिने ?

सन्तोष खोज्थे मिनिमम् ग्यारेन्टी (एमजी) । उनले हिम्मत हारेनन् । वितरक र प्रोडक्सन हाउस खोज्नेक्रम जारी राखे । त्यही क्रममा एक प्रोडक्सन कम्पनीका मालिकलाई चलचित्र देखाए । उनी चलचित्र हेरेर प्रभावित भए । “मलाई चलचित्र मनपर्यो । भन, तिमीहरु मेरो प्रोडक्सन कम्पनीबाट के चाहन्छौ ?,” सन्तोष सुनाउँछन्, “मैले मिनिमम् ग्यारेन्टी चाहेको बताएँ । उनी राजी भए । चलचित्र फाइनल गरेर ल्याऊ भने ।”

चलचित्रको केही काम बाँकी थियो । सन्तोष काठमाडौं आए । काम सकेर चलचित्रको फाइनल कपी बोकेर मुम्बई फर्किए ।
  
अहिले सन्तोष अन्धेरी वेस्टको रियल टच स्टुडियोमा चलचित्रको काम गरिरहेका छन् । डबिङको काम भर्खरै सकाए । “सम्पादन, फोली, एफएसएक्स, कलरको काम सकियो,” सन्तोष भन्छन्, “अहिले साउन्ड र ब्याकग्राउन्ड स्टोरीको काम भइरहेको छ ।”

डबिङ आर्टिस्ट कसलाई राख्ने सन्तोषलाई ‘आइडिया’ थिएन । उनले स्टुडियोलाई भने । स्टुडियोले बोलाइदियो संकेत, डेडबुल, अल्लु अर्जुन, केजीएफलगायत चलचित्रका डबिङ आर्टिस्ट शक्ति सिंहलगायत कलाकार ।

१५ जना मुख्य र अरु सामान्य रोलको डबिङ आर्टिस्टका लागि सन्तोषले प्रतिव्यक्ति ६ लाख भारुसम्म पारिश्रमिक दिए । २८ लाख भारु डबिङमा खर्च गरेका सन्तोष भन्छन्, “नेपालमा अभिनय गर्ने कलाकारले भन्दा यहाँ डबिङ आर्टिस्टले धेरै पारिश्रमिक लिँदा रहेछन् । तर, काम राम्रो भएको छ ।”

‘राधे’, ‘वेलवेटम’, ‘सूर्यवंशी’का प्राविधिकहरुले नै सन्तोषको चलचित्रको प्राविधिक पक्षमा काम गरिरहेका छन् । ‘सूर्यवंशी’को ब्याकग्राउन्ड स्कोररले ‘प्रेम गीत–३’ मा ब्याकग्राउन्ड स्कोररको काम गरिरहेका छन् ।

सन्तोषको चलचित्र वितरणको जिम्मा लिएको पीवीआर कम्पनीले नै ‘सूर्यवंशी’का स्कोरर सिफारिस गरेको हो । वितरक इरोसले पनि सकारात्मक प्रतिक्रिया दिएको छ ।

सन्तोषका अनुसार चलचित्र भारतका सिनेमा हलमा नै रिलिज हुने हो । “चलचित्रले फाइनल टच पाएपछि राम्रो पब्लिसिटी गर्ने कुरा भएको छ । यहाँका ठूला चलचित्र छलेर हल रिलिज गर्ने हो,” सन्तोष भन्छन्, “अहिले वितरकले कम्तीमा ५०० देखि एक हजार हलमा रिलिज गर्छौँ भनेको छ ।”

हाम्रो चलचित्र हेरेका केही वितरकले अन्य भाषामा पनि डबिङ गर, डिजिटल प्लेटफर्ममा राख्छौँ भनेको सुनाउँछन् सन्तोष, “साउथको भन्दा नेपाली चलचित्रको लिप्सिङ सजिलो हुनेरहेछ । डबिङ आर्टिस्टका अनुसार नेपालीको हिन्दी डबिङमा ८० प्रतिशत लिप्सिङ मिल्नेरहेछ ।”

भारतका ठूलो ब्यानरका चलचित्रमा डबिङ गरेका आर्टिस्टले ‘प्रेम गीत–३’ को खुलेर प्रशंसा गरेको भन्दै सन्तोष आफ्नो चलचित्रप्रति आशावादी सुनिए । भारतीय दर्शकले यो चलचित्र मन पराउने उनीहरुले बताएपछि उनी उत्साहित छन् ।

नेपालमा चलचित्रको नाम ‘प्रेम गीत–३’ रहे पनि भारतमा भने अर्कै नाम राखिनेछ । हिन्दीमा नाम के रहने निश्चित भइसकेको छैन । तर, उनले प्रस्ताव गरेका छन्– ब्रह्म रेखा । 

वितरकरले अर्को आश्वासन पनि दिएको छ, इन्टरनेस्नल फेस्टिभलमा लैजाने प्रयास गर्नेछौँ ।

औसत डेढ करोड रुपैयाँ लगानीमा चलचित्र बनिरहेका बेला सन्तोषले तीन गुणाभन्दा धेरै एउटै चलचित्रमा खर्च गरे । कारण, बलिउडमा नेपाली चलचित्रको ढोका खुलोस् भन्ने उनको लोभ छ ।

“बलिउडमा साउथ, केरलालगायत थुप्रै क्षेत्रका चलचित्र हिन्दीमा डब भएर  ५००, हजार करोड व्यापार गरिरहेका छन् । तर, हाम्रा चलचित्र किन भारतमा आफ्नो उपस्थिति जनाउन सकिरहेका छैनन् भन्ने प्रश्नले मलाई सधैँ पिरोलिरहेको थियो,” मुम्बईमा रहेका सन्तोष भन्छन्, “हामीले आजसम्म प्रयास नै गरेनौँ । कसै न कसैले प्रयास नगरेसम्म हाम्रा चलचित्र भारतीय दर्शकले रुचाउँछन् अथवा रुचाउँदैनन् कसरी थाहा हुन्छ ? त्यसैले मैले प्रयास गरेको हुँ ।”

आफ्नो चलचित्रले ‘ब्रेकइभन’ मात्रै गरे पनि अन्य चलचित्रका लागि यो कोसेढुंगा साबित हुने उनको बुझाइ छ । थुप्र्रै नेपाली मेकरहरु लगानी डुब्ने भयले राम्रो चलचित्र बनाउन हच्किरहेको अवस्थामा १०-१५ करोडको बजार खोज्न सके नेपालमा राम्रा चलचित्र बन्न सुरु हुने सन्तोषको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here